नेपालमा एमसिसी निरन्तर रहने

२०८२ असार ६, शुक्रबार

काठमाडौँ :अमेरिकी सरकारको वैदेशिक सहायतामा आधारित नेपालमा कार्यान्वयनमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको एमसिसी नेपाल कम्प्याक्टको परियोजना निरन्तर रहने भएको छ ।

९० दिनको रोक लगाएको मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्टलाई अमेरिकी सरकारले निरन्तरताका लागि फुकुवा गरेको हो । अमेरिकी सरकारले वैदेशिक सहायता सम्बन्धमा एमसिए नेपालको समीक्षा चलिरहेकै बखत नेपालमा परियोजना कार्यान्वयन जारी राख्न स्वीकृति प्रदान गरेको जनाएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले नेपालको परियोजनालाई निरन्तरता दिने विशेष निर्णय गरेको वक्तव्यमार्फत प्रस्ट पारेको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रकाशन गरेको वक्तव्यमा भनिएको छ, “अमेरिकी वैदेशिक सहायताका बारेमा अमेरिकी सरकारको समीक्षा जारी छ, यस अपवाद अन्तर्गत एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन जारी राख्न अनुमति प्रदान गरिएको छ ।”

साथै वक्तव्यमा एमसिसी र नेपालस्थित अमेरिकी दूतावासले अमेरिका सरकारले गरिरहेको समीक्षालाई थप रचनात्मक बनाउन सरोकारवालाहरूसँग परामर्श जारी राखेको जनाइएको छ ।

वक्तव्य अनुसार एमसिसीले अर्थ मन्त्रालय र एमसिए–नेपालसँगको सहकार्यमा काम गरिरहेको उल्लेख गर्दै सम्भावित नयाँ दायित्वहरूसहित एमसिसी नेपाल सम्झौता अन्तर्गत यसअघि गरिएका र पछि सुरु गर्ने गतिविधिहरू नेपाल सरकार र अमेरिकाका प्राथमिकताहरूसँग मेल खाएको प्रस्ट्याइएको छ, जस अनुसार परियोजना पारदर्शिता, सुदृढ शासन, प्रभावकारी कार्यान्वयनमा र विवेकपूर्ण जोखिम व्यवस्थापन सुनिश्चित गर्न सकिने पनि वक्तव्यमा औँल्याइएको छ ।

नेपाल र संयुक्त राज्य अमेरिकाबिचको द्विपक्षीय सम्बन्ध समृद्धि र दीर्घकालीन आर्थिक पुनरुत्थानलाई प्रवर्धन गर्ने प्रयासमार्फत नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको पनि अमेरिकी सरकारले प्रस्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार