भ्रष्टाचारीहरूको लर्कोमा मलाई नजोड्नुहोला : बाबुराम भट्टराई

२०८२ असार १०, मंगलवार

काठमाडौं : पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचारीहरूको लर्को लागेको र त्यसमा आफूलाई नजोड्न आग्रह गरेका छन् ।

आफूले राज्य र समाजलाई हानी हुने गरी एक रुपैयाँ नखाएको जिकिर गर्दै संविधान सभामा हुँदादेखि नै छानबिन गर्न उनले आह्वान गरेको बताए ।

मुख्य ३ दलका नेताहरू भ्रष्टाचारको दलदलमा फस्दै गएको बताउँदै भट्टराईले भ्रष्टाचारीहरूको लर्कोमा आफूलाई नजोड्न आग्रह गरेका हुन् । ‘भ्रष्टाचारीहरूको यहाँ लर्को लागेको छ, त्यसमा बाबुराम भट्टराईलाई पनि जोड्ने प्रयत्न कसैले नगरिदिनुहोला । त्यो कसैले पत्याउँदैन,’ भट्टराईले भने, ‘हात्ति र हात्तिछाप चप्पल उस्तै हो नानु भनेर विज्ञापन गर्नु भएन, त्यो हाँस्यास्पद कुरा हुन्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईलाई पनि ललिता निवास प्रकरणमा जोड्ने गरिएको छ । कहीँकतै एक रुपैयाँ राज्य र समाजलाई नोक्सान हुने काम गरेको छ भने छानबिन गर्न भट्टराई सरकारलाई चुनौती दिए ।

‘अहिले पनि चुनौती दिन्छु, म रेकर्डमै छु, त्यतिबेला संविधान सभामा छँदै छानबिन गर्न मैबाट सुरु गनुस् भनिराखेकै छु । त्यो गर्ने आँट कोही पनि गर्दैन । बाबुराम भट्टराईको बारेमा कसैले औंला ठड्याउन सकेको छैन,’ भट्टराईले भने, ‘छानबिन गर्न पनि सक्दैन, सक्छ भने अहिले नै म ठाडो चुनौती दिन चाहन्छु ।’

ठेकेदार तथा कमिसनखोरहरूबाट पैसा लिएर चुनाव जित्ने अनि सत्तामा पुगेपछि तिनै ठेकेदार र कमिसनखोरहरूलाई गुन लगाउनका निम्ति राज्यको स्रोत दोहन गर्ने प्रवृति रहेको बताएका छन् । पहिले यो रोग कांग्रेसमा, त्यसपछि एमाले अनि माओवादीमा सरेको भट्टराईको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार