प्रचण्ड विश्वास गर्न लायक छैनन् : उपेन्द्र यादव

२०८२ असार ११, बुधबार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वास गर्न लायक नरहेको टिप्पणी गरेका छन् । आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा  उनले प्रचण्डमा छलकपट, जालझेल र विश्वासघात भन्दा अर्को कुनै कुरा बाँकी नरहेको बताएका हुन् ।

‘कसैसँग कुनै किसिमको सहकार्य हुन सक्दैन । सहकार्य गर्न लायक नै होइनन् उनी त । उहाँ विश्वासयोेग्य नै रहनुभएन । छलकपट, जालझेल जोसँग पनि गर्ने, जोसँग पनि विश्वासघात गर्ने कार्यले कसैले विश्वास गर्न सक्ने अवस्था नै छैन,’– उनले भने ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको जसपा नेपालले प्रमुख प्रतिपक्षी माओवादीसँग पनि सहकार्य नगर्ने उनले बताए ।उनले आफूहरु सरकार ढाल्ने खेलमा नरहेको पनि बताए । ‘हाम्रो कुरा गर्नुहुन्छ भने हामी सरकार ढाल्ने खेलमा छैनौं, जाँदैनौं । हाम्रा कारणले कुनै सरकार ढल्नुपर्दैन । म्युजिलक चियरमा ओलोपालो गरेर तीन चार जनालाई प्रधानमन्त्री बनाइराख्ने ? त्यसैका लागि सरकार ढाल्ने ?’ प्रश्न गर्दै उनले भने ।

समस्याको समाधान गर्न जिम्मेवारी लिएका व्यक्तिहरुले त्याग गर्नुपर्ने उनले बताए । राष्ट्रलाई सम्झिएर, माटोलाई निधारमा लगाएर कसम खाएर सुशासन दिन्छु, भ्रष्टाचार नियन्त्रण गर्छु र देश विकास गर्छु भनेर लाग्न सक्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार