धरान : धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेख्दै आगामी खानेपानी परियोजनाका लागि एशियाली विकास बैंकको ऋण नलिन आग्रह गरेका छन्। देशमा विदेशी ऋणको भार थपिने भन्दै उनले राष्ट्रिय आम्दानीकै स्रोतबाट खानेपानी योजना अघि बढाउन माग गरेका छन्।
धरान उपमहानगरपालिकाबाट पठाइएको पत्रमा भनिएको छ, ’कम्तीमा ३० वर्ष पुग्ने दीर्घकालीन खानेपानी योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन पटक–पटक मन्त्रालय धाउँदा पनि अझै योजना कार्यान्वयन नहुँदा जनतामा निराशा छ।
यसैबीच प्राप्त जानकारी अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारले ४ करोड रुपैयाँ मात्र विनियोजन गरेको र बाँकी रकम एडीबीको ऋणमार्फत ल्याइने तयारी भएको बुझिएको छ। यस्तो अवस्थामा धरानले पहिले लिएको एडीबीको ऋणसमेत तिर्न बाँकी रहेको हुँदा फेरि विदेशी ऋणको भार थपिनु उपयुक्त हुँदैन।’
नगर प्रमुख राईले अगाडि भनेका छन्, ’हामी आफ्नै आम्दानीबाट खानेपानी योजना अगाडि बढाउन चाहन्छौं। यदि त्यो सम्भव नभए हामी आफै खोला, खोल्सीको पानी जोडेर धरानका जनताको गुजारा चलाउनेछौं।’
खानेपानी मन्त्रालयका लागि लेखिएको उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत सम्बन्धित निकायहरूलाई समेत पठाइएको छ।






