तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मा रहेको पर्यटकीय गन्तव्य मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ। पछिल्लो समय पर्यटकको आकर्षण बनेको मानुङकोटलाई व्यवस्थित गर्न नगरपालिकाले यो योजना अघि सारेको हो।
मानुङकोटको आकर्षणलाई व्यवस्थित गर्न एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। मानुङकोटको मौलिकता जोगाउँदै आधुनिक ढङ्गले विकास गर्न जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सम्बन्धित जग्गाधनी र नगर विकास कोषसँग सहकार्य गरिने उनले बताए।
न्यौपानेले भने, ‘मानुङका मगरले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किन्ने क्रम बढिरहेको छ। त्यसलाई मध्यनजर गर्दै मानहुँका जग्गालाई व्यवस्थापन गर्न खोजेका हौं।’ नगरपालिकाले मानुङकोटसँगै व्यास नगरपालिका–६ मा रहेको शिशाघाट नयाँ सहर आयोजनामा पनि एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिएको छ।
मानुङकोट पछिल्लो समय दृश्यावलोकन केन्द्रका रूपमा विकसित भइरहेको छ। यहाँबाट देखिने सूर्योदय र कुहिरोको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको भनाइ छ। राति बास बसेर बिहान सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेको होटल व्यवसायी चूडामणि दाहालले उल्लेख गरे।
मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ। पहिले होटल नभएको यो ठाउँमा अहिले एक दर्जन होटल सञ्चालनमा छन्। दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ बनाएको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ राखिएको छ। रेलिङसँगैको भागमा हालै पैदलमार्ग पनि बनाइएको छ।
मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्य देख्न सकिन्छ। दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ।
परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न चाहँदा लुक्न कुहिरो उत्पन्न गराएको धार्मिक किंवदन्ती छ। मानुङकोटमा पर्यटक बढेपछि गाउँ छोडेर सहर गएकाहरू पनि फर्केर व्यवसाय गर्न थालेका छन्। खानेपानीको अभावमा स्थानीयले गाउँ छोडेका थिए। अहिले बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा पानीको विकल्प दिइरहेको छ।
मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ। सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो। अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको छ। कालोपत्र गर्न अप्ठ्यारो ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ। रासस





