काठमाडौँ : पूर्वमन्त्री तथा नेकपा एमालेका नेता कर्णबहादुर थापाले महासचिव शंकर पोखरेलले नै पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाएको आरोप लगाएका छन् । थापाले पोखरेलप्रति लक्षित गर्दै आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत झुटो गीत गाउनेहरू नै अध्यक्षको रक्षाकबच हुँ भनेर देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोल्नु पार्टी हित र नीति विरोधी व्यवहार भएको उल्लेख गरेका छन् ।
‘नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको लगतै देखि पार्टी अध्यक्ष होइन, महासचिवलाई सेन्टर मानेर चल्नुपर्छ भनेर पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाउने र अहिले पनि अध्यक्षको बचनका लागि मात्रै प्रशंसाको झुटो गीत गाउनेहरू नै अध्यक्षको रक्षाकबच हुँ भनेर देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोल्नु पार्टी हित र नीति विरोधी व्यवहार हो । नेतृत्वलाई गुमराहमा राखेर सधैँभरि मुखिया हुन सकिन्छ भन्ने कसैलाई लागेको भए, यस्तो चिन्तनबाट छिटो मुक्त हुन अनुरोध गर्दछु’, थापाले भनेका छन् ।
कठिन भन्दा कठिन दिनमा पनि सत्यको पक्षमा उभिएर आएको भन्दै उनले फेरि पनि सत्यकै पक्षमा उभिइने स्पष्ट पारेका छन् । साथै थापाले सम्पूर्ण एमाले पङ्क्तिलाई सही कुरा बुझेर मात्रै मत बनाउन आग्रह गरेका छन् ।





