काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले सरकारमा रहेका राजनीतिक दलसँग कुनै पनि सौदाबाजी नगरिएको दाबी गरेका छन् । माओवादीले भ्रष्टाचार र अनियमितताको विरुद्धमा र सुशासन र सामाजिक न्यायको पक्षमा माओवादीले सरकारमा हुँदा पनि काम गर्ने र प्रतिपक्षमा हुँदा पनि आवाज उठाउने काम गरिरहेको उनले बताए ।
साथै, उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरण आफूहरुले सशक्त रुपमा आवाज उठाइरहेको पनि उनले बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उनले भने,‘मन्त्रीहरुको यो घुस डिलिङ केसमा हिजो संसद्मा नेकपा (माओवादी केन्द्र) को तर्फबाट जति जनाले बोल्यौं, चाहे त्यो शून्य समय, आकस्मिक समयमा र विशेष समयमा ज–जसले बोल्यौं, सबैले त्यो विषयमा बोलेकै छौं । हामीले बोलिराखेका छौं । यो अनुचित भयो । सुशासनको नारा अलाप्ने सरकारको गर्ने काम उल्टो भयो । जसको कारणले गर्दाखेरी देश विदेशमा पनि राम्रो छवि बनेन सरकारको । सुशासनको कुरा त परै जाओस् राजनीतिक स्थिरतामा पनि आशंकका पैदा भयो ।’
साथै, उनले फरक प्रसंगमा माओवादीले भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग कुनै पनि प्रकारको लेनदेन नगरेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षले सदन अवरोध गरेको आरोप लगाउँदै अधिवेशन नै अन्त्य गर्ने अवस्था आएपछि दुई बुँदे सहमति गर्नुपरेको उनले बताए ।
‘केपी ओली शर्मालाई त हामीले चिनेकै छौं । त्यसैको बहानाबाजी गरेर संसद् चल्न नदिने, संसद्को अन्त्य गरेर चुपचापसँग बस्ने, अध्यादेशमार्फत आफ्नो अनुकूलतामा कानुन ल्याउने हामीले देखेपछि त्यो हुन नदिन सहमति गरेका हौं । मान्छेहरुले नबुझेर भनिराखेको छन् । लेनदेन भन्ने कुरालाई हाइलाइट गरेर नेकपा (माओवादी केन्द्र) ले गरेको कामलाई भ्रमित गर्ने काम भइरहेको छ,’ उनले भने ।





