धरहरा अब राति ८ बजेसम्म खुल्ने

२०८२ असार ३२, बुधबार

काठमाडौं : धरहरा अब बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म दैनिक १२ घण्टा खुला हुने भएको छ।

साउन १ गतेदेखि धरहरा सार्वजनिक बिदाको दिनमा पनि खुला गर्ने निर्णय सहरी विकास मन्त्रालयले गरेको छ। असार मसान्तसम्म धरहरा कार्यालय सञ्चालन समय बिहान १० बजेदेखि बेलुका साढे ४ बजेसम्म हुनेछ। सार्वजनिक बिदाको दिनमा धरहरा बन्द हुने गरेको थियो। शनिबारको सट्टा बुधबार बन्द हुने गरेको धरहरा अब उक्त दिन पनि बन्द नहुने भएको छ।

सार्वजनिक बिदाको दिनमा र बेलुकाको समयमा धरहरा खुला राख्दा धरहरा चढ्न आउनेको संख्या बढ्ने अनुमान मन्त्रालयले गरेको छ। सर्वसाधारणले धरहरा खुल्ने समय कम भएको गुनासो गर्दै अलि बढी समय खुला गर्न र सार्वजनिक बिदाको दिनमा पनि बन्द नगर्न सुझाव दिँदै आएका थिए।

हालसम्म सात महिनाको अवधिमा धरहरा अवलोकनकर्ताहरूलाई टिकट बिक्रीबाट चार करोड ३३ लाख ९३ हजार ६ सय ५० रूपैयाँ राजस्व संकलन भएको सहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ। उक्त एकाइअन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ। धरहरा सञ्चालन भएयताको अवधिमा दुई लाख ३७ हजार ६५ जनाले धरहरा चढिसकेका छन्।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश २०८१ बमोजिम धरहरा सशुल्क सञ्चालनमा छ। असोजको पहिलो साताबाट धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो। गत मंसिर ९ गतेदेखि सरकारले धरहरा चढ्न दुई सय रूपैयाँ शुल्क तोकेको छ। त्योभन्दा पहिले निःशुल्क धरहरा चढ्ने सुविधा उपलब्ध थियो। संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएको थियो।

धरहराको सञ्चालन र व्यवस्थापन संघीय सरकार आफैंले गर्ने निर्णय गत कात्तिकमै मन्त्रिपरिषद्को बैठकले गरेको थियो। एउटा निश्चित समयका लागि निजी क्षेत्रलाई लिजमा दिन सक्ने व्यवस्थासमेत बैठकले गरेको छ। अहिले मन्त्रालयले धरहराको सञ्चालन तथा व्यवस्थापन गर्न १३ कर्मचारी खटाएको छ। धरहरा सञ्चालन गर्न साउन १ गतेदेखि कर्मचारीहरूले दुई सिफ्टमा काम गर्ने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार