काठमाडौं : अधिकांश बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन्। आज प्रकाशित सूचनाअनुसार अधिकांश बैंकहरुले साउनका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्।
देशभरका वाणिज्य बैंकमध्ये १४ वटा बैंकले असारको तुलनामा ब्याजदर घटाएका छन् भने ४ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् ।
बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा साउन महिनाको औसत अधिकतम ब्याजदर ५.६९७५ प्रतिशतमा झरेको छ, जुन असार महिनामा ५.९०२ प्रतिशत थियो । यस आधारमा ०.२०४५ प्रतिशत विन्दु ब्याजदर घटेको हो ।
त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा पनि औसत ब्याजदर ०.२६ प्रतिशत विन्दु घटेको छ । यो घटोत्तरीको मुख्य कारण बजारमा तरलता प्रशस्त हुनु, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति पूर्वसंकेत र बैंकहरूको कर्जा प्रवाह लक्ष्य मध्यम हुनु हो भन्ने विश्लेषकहरूको बुझाइ छ ।
सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक प्रभु बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा असारमा दिइरहेको ६.१ प्रतिशतको अधिकतम ब्याजदर घटाएर साउनदेखि ४.२५ प्रतिशतमा झारेको छ । यो दर हाल वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम हो ।
यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.२६ प्रतिशत ब्याज दिने घोषणा गर्दै सबैभन्दा उच्च ब्याजदर दिने बैंकको रूपमा अग्रता लिएको छ ।
ब्याजदर यथावत राख्ने बैंकहरूमा माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिचार्थ बैंक र एनएमबि बैंक रहेका छन् । यी बैंकहरूले साउनमा व्यक्तिगत तथा संस्थागत मुद्दति दुवै निक्षेपमा कुनै परिवर्तन गरेका छैनन् ।
ब्याजदर वृद्धि गर्ने बैंक भने हिमालयन बैंक मात्र हो । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ५.५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्याएको छ भने संस्थागत निक्षेपमा पनि १ प्रतिशत बृद्धि गर्दै ५ प्रतिशत पुर्याएको छ ।





