धनगढी : कञ्चनपुरको लालझाडी गाउँपालिकाका रामरेसर रानाको हत्या उनकै श्रीमतीको योजनामा भएको प्रहरीले खुलासा गरेको छ । गत वैशाख १६ गते लालझाडी गाउँपालिका-४, जाई सिगलपट्टि शिविरमा बस्ने ४९ वर्षीय रामरेसरको हत्या भएको थियो ।
उनी १६ दिनअघि मात्रै भारतमा मजदुरी गरेर फर्किएका थिए । घरको सहारा बनेर भारतबाट फर्किएका रामरेसरको हत्यामा उनकै श्रीमती माया चौधरी र उनका सहयोगीहरु भएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा मृतककी श्रीमतीले पुन्ना राना र छिमेकी मानमती चौधरीसँग मिलेर वैशाख १६ गते मध्यराति १२ बजे रामरेशरको हत्या गरेको स्वीकार गरेका छन् ।
रामरेसर मजदुरीका लागि प्राय: भारतमा बस्थे । उनको परिवारमा श्रीमती माया, दुई छोरा (जसमध्ये जेठो बोल्न सक्दैनन् र एक छोरी थिए । कहिले गाउँमै खेतीपाती गरेर त कहिले भारतको चम्पावतमा गएर मजदुरी गरेर उनले आफ्नो परिवारको गुजारा चलाउँदै आएका थिए । घटना हुनुभन्दा ठीक १५ दिनअघि मात्रै उनी घर फर्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार पुन्ना राना ट्याक्टर चालक हुन् । २०८१ सालमा रामरेसरकी श्रीमती माया चौधरी र रानाबीच भेट भएको थियो । उनीहरूबीच फोन नम्बर साटासाट भएपछि भेटघाट हुन थाल्यो । मृतक रामरेसर रोजगारीको सिलसिलामा भारतमा बस्दै आएकाले पुन्ना मायाको घरमा आउने-जाने गरिरहन्थे ।
वैशाख १६ गते पुन्ना राना बेलौरीबाट मानमतीको घर हुँदै मायाको घरमा पुगे । मायाले सोही दिन राति श्रीमान् घरमा नभएको फोनबाट बताएकी थिइन् । रामरेसर नभएको खबरपछि पुन्ना मायाको घरमा पुगे, तर पुन्ना पुगेको केही समयमा श्रीमान् रामरेसर पनि घरमा पुगे । त्यसपछि राति घरमा परपुरुषलाई बोलाएको विषयमा विवाद भयो । विवादमा श्रीमती माया, पुन्ना र मानमती तीन जनाले मिलेर बाँसको चिर्पटले रामरेसरको टाउकोमा प्रहार गरेको अनुसन्धानबाट देखिएको डीएसपी बोहराले बताए ।





