काठमाडौँ : पाँचथरमा ६ दिनदेखि बेपत्ता एकै घरका दुई बालबालिकाको शव फेला परेको छ। याङवरक गाउँपालिका-१ च्याङथापुबाट यही साउन १५ गतेदेखि हराइरहेका स्थानीय बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर राई र चार वर्षीया छोरी नानुमा राईको शव फेला परेको हो।
मंगलबार बिहान स्थानीय बिरुवा खोला बगरमा उनीहरुको शव भेटिएको छ,’ जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक रुपेश तामाङले बताए।
दुईसय मिटरको फरकमा उनीहरुको शव भेटिएको हो। शुक्रबार घरबाटै बेपत्ता बालबालिकाको खोजीमा परिवार, स्थानीय बासिन्दा, प्रहरी, जनप्रतिनिधि खटिएका थिए। बालबालिका हराएको साँझदेखि नै जंगल, नदी किनार र आसपासका क्षेत्रमा खोजी गरिएको थियो।
साविक च्याङथापु १ र ८ को सीमा भएर बग्ने विरुवा खोलामा बालबालिकाको शव भेटिएको याङवरक १ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिए। उनीहरुको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।





