देवघाटमा बोलबम मेलामा डेढ लाख भक्तजन

२०८२ श्रावण २७, मंगलवार

तनहुँ : तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा साउनको सोमबार लागेको बोलबम मेलामा एक लाख ५० हजार भक्तजन आएका छन् ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस वर्ष साउनको चारवटा सोमबार एक लाख ५० हजार भक्तजनले बोलबम मेलामा स्नान गरेका हुन् । बोलबम मेला साउनको प्रत्येक सोमबार हुन्छ । बोलबममा देवघाटको वेणीसङ्गम र शिवालयहरूमा भक्तजनको घुँइचो लागेको थियो । साउनका अन्य बारमा पनि यहाँ दैनिक एक हजारभन्दा बढी भक्तजन आउने निर्देशक बरालले उल्लेख गरे ।

चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा हरेक वर्ष साउनको सोमबार उत्सव मनाइने भएकाले पनि स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको आगमन वृद्धि हुने उनले बताए। साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले बताए ।

साउनको हरेक सोमबार बिहानै स्नान गरेर निराहार व्रत बस्ने धार्मिक मान्यता छ । देवघाट क्षेत्र विकास समितिले यसवर्ष बोलबम मेलामा आउने भक्तजनको तथ्याङ्क राखेको हो । साउनमा त्रिशुली र कालीगण्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार