काठमाडौं : नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि शरद ओझा ‘अयोग्य ठहर’ भएका छन् । अनुभवको फर्जी कागजात बुझाएको आरोपमा छानबिनमा परेका ओझा अयोग्य ठहर भएका हुन् ।
मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले प्राधिकरण अध्यक्षका लागि ओझा अयोग्य रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ । यससँगै अब जाँचबुझ समितिको सिफारिसबमोजिम ओझालाई पदबाट बर्खास्त गरी अर्को नियुक्ति प्रक्रिया अघि बढाउनुपर्नेछ ।
गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्दै उनीमाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा समिति गठन गरेका थिए । समितिमा नेपाल सरकारका पूर्वसहसचिव जीवनप्रकाश सिटौला र बिमा समितिका पूर्वसदस्य कपिलदेव ओली सदस्य थिए ।
समितिले ओझाको कार्यक्षमता, पदीय जिम्मेवारी, आचरण र योग्यता अनुभवमा केन्द्रित भएर ओझामाथि छानविन गरेको थियो । यस क्रममा अनुभवजस्ता विषयमा कैफियत भेटिएको स्रोतको भनाइ छ ।





