विपिनको परिवारलाई भेटेर इजरायली राष्ट्रपति भावुक, रिहाइ नहुँदासम्म चुप नलाग्ने अठोट

२०८२ भाद्र २, सोमबार

काठमाडौं : सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा किबुत्ज अलुमिमबाट बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशी हाल गाजामा हमासको नियन्त्रणमा छन्। उनको रिहाइका आमा (पद्मा जोशी) र बहिनी (पुष्पा जोशी) इजरायल पुगेका छन्।

कृषि अध्ययनका लागि इजरायल पुगेका विपिनको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल गएका हुन्। यो उनीहरूको पहिलो इजरायल यात्रा हो। परिवारसँगै नेपाल सरकारले पनि कूटनीतिक पहल गरिरहेको छ। तर सफलता मिलेको छैन।

यसबिच आइतबार इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपिनकी आमा पद्मा र बहिनी पुष्पासँग भावुक भेट गरेका छन्। उनले यो भेटलाई ‘दुखद र भावुक’ बताउँदै भनेका छन्, ‘म पद्मा र पुष्पाको पीडामा सहभागी छु। विपिनसहित सबै बन्दीको रिहाइ नहुँदासम्म हामी चुप लागेर बस्दैनौं।’

इजरायलस्थित नेपाली दूतावासका अनुसार राजदूत धनप्रसाद पण्डितसहित पद्मा र पुष्पाले राष्ट्रपति हर्जोगसँग भेटेका थिए। भेटमा पद्माले आफ्नो छोरा विपिनको शीघ्र रिहाइका लागि अनुरोध गरिन् भने बहिनी पुष्पाले विपिन निर्दोष विद्यार्थी भएको भन्दै रिहाइका लागि हरसम्भव प्रयास गर्न आग्रह गरिन्। भेटमा राजदूत पण्डितले विपिनको अवस्थाबारे जानकारी र पहलका लागि अनुरोध गरे।

राष्ट्रपति हर्जोगले जवाफमा विपिनलाई आफ्नै नागरिकजस्तै मानेको र रिहाइका लागि इजरायल सरकारले हरसम्भव प्रयास गरिरहेको बताए।सोही दिन, पद्मा र पुष्पाले इजरायली संसदका अध्यक्ष अमिर ओहनासँग पनि भेट गरेको दूतावासले जानकारी दिएको छ। ओहनाले विपिनको रिहाइमा इजरायलको चासो रहेको र खोजी कार्य जारी रहेको बताए। उनले नेपाल–इजरायल सम्बन्धलाई यो विषयले थप बलियो बनाएको उल्लेख गर्दै सबै बन्दीको रिहाइका लागि प्रयास भइरहेको जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार