कैलाली कारागार घटना : उच्चस्तरीय अनुसन्धान आवश्यक भएको छानबिन समितिको निष्कर्ष

२०८२ भाद्र ५, बिहीबार

धनगढी : कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनामा सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको औंल्याइएको छ । एक जनाको मृत्यु र ४८ जना घाइते हुने गरी गत २३ साउनको राति भएको हिंसात्मक घटनाको छानबिनका लागि गठन गरिएको समितिले घटनाको सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक भएको ठहर गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी नेतृत्वको पाँच सदस्यीय छानबिन समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा कैदीबन्दीबीचको आपसी मतभेद, बन्दीगृहको प्रशासनमा आ-आफ्नो प्रभुत्व जमाउनु खोज्नुलगायतका कारणले कैदीबन्दीहरुबीच पटक-पटक वादविवाद हुुँदै आएको उल्लेख गरिएको छ ।

छानबिन समितिका सदस्य सचिवसमेत रहेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले बन्दीगृह प्रशासनमा प्रभुत्व जमाउने प्रयासका कारण कैदीबन्दीहरुबीच आपसी मतभेद सिर्जना गरेको देखिएको बताए । सोही कारण उनीहरुबीच विवाद हुने गरेको र अन्त: उक्त विवादले हिंसात्सकस्थिति सिर्जना गरेको जोशीले बताए ।

कारागारभित्र रहेका सीसीटीभी फुटेज प्रष्ट नदेखिएकाले विश्लेषण गर्न नसकिएको बताउँदै जोशीले घटनाको वास्तविकता पत्ता लगाउन सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालिएको जानकारी दिए । अपराध अनुसन्धानमा विशिष्ट खालको अनुभव र दक्षता प्राप्त सुरक्षाकर्मीको टोलीमार्फत अनुसन्धान आवश्यक रहेको उनी बताउँछन् ।

छानबिनका क्रममा समितिले कारागारभित्र रहेका र हिंसात्मक घटनामा घाइते भएपछि अस्पतालमा रहेका कैदीबन्दीहरुसँग सोधपुछ गरेको थियो । घाइतेहरुले घटनाको कारणसहित त्यसमा भूमिका खेल्ने केही कैदीबन्दीको नाम छानबिन समितिलाई बताएका थिए । सोही आधारमा समितिले कारागारमै पुगेर उनीहरुसँग समेत सोधपुछ गरेको थियो तर उनीहरु समितिलाई इन्कारी बयान दिएका थिए ।

जोशीले प्रशासनिक नेतृत्वबाट अपराधिक घटनाको छानबिन असम्भव हुने देखिएकाले पनि सुरक्षा निकायबाटै विशेष अनुसन्धान आवश्यक रहेको देखिएको बताएका छन् । गत २३ साउनको राति ब्लक ए का कैदीबन्दीले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदीबन्दीमाथि आक्रमण गरेका थिए । उक्त आक्रमणमा परेर लागुऔषध मुद्दामा कैदी सजाय भुक्तान गरिरहेका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भएका थिए ।

घाइतेहरु मध्ये ३९ जना डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज भए पनि अहिले उनीहरुलाई सेती प्रादेशिक अस्पताल अन्तरगतको कोरोना अस्पतालमै राखिएको छ । डिस्चार्ज भएकामध्ये चार जना कञ्चनपुर कारागार र एक जनाको पश्चिम नवलपरासी कारागार स्थानान्तरण गरिएको छ । गम्भीर अवस्थाका तीन जना कैदीबन्दीको काठमाडौँमा उपचार भइरहेको छ ।

कारागारमा भएको हिंसात्मक घटनामा गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै गृह प्रशासनले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई मन्त्रालय तानेर दाङका प्रुजिअ कृष्णप्रसाद लम्साललाई पठाएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार