काठमाडौं : अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ । अवैध ढङ्गले अमेरिका पुगेका र अध्यागमनको कानुन उल्लङ्घन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो ।
उनीहरू बुधवार चार्टर्ड जहाजबाट काठमाडौं आइपुग्दैछन् । ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ । भोलि साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई लिएर अमेरिकाको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । निष्काशितहुनेहरू अधिकांशसँग पक्राउ पर्ने क्रममा कागजात थिएन ।
अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा अमेरिकामा उनीहरूलाई पक्राउ गरिएको थियो । राहदानी नभएकाहरूलाई वासिङटनडिसीस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाइ दिएको छ । निष्काशित हुनेहरूमा दुईजना बस्नेत,तीनजना भण्डारी,विश्वकर्मा,बोहरा, बुढाथोकी, छिनाल,डाँगी,कुँवर,खत्री र शाह थर भएका एकरएकजना छन् । यसैगरी दुईजना चौधरी,दुईजना कँडेल,दुईजना खड्का,छजना केसी र तीनजना ओलीसमेत निष्काशितको सूचीमा रहेका छन् ।
आचार्य, पुन, विके,गौतम, शेर्पा,सिंह,सुवेद,तामाङ र ठाडा थर भएका एकरएकजना पनि भोलि नेपाल आइपुग्नेछन् । अवैध बसेका उनीहरूलाई नियमित जाँचका क्रममा कागजपत्र नभएपछि अमेरिकाको सुरक्षाकर्मीले पक्राउ गरेको थियो । पछिल्लो पटक अवैधरुपमा अमेरिका प्रवेश गर्ने नेपालीहरू धमाधम निष्काशन हुन थालेका छन् ।
अवैध ढङ्गबाट अमेरिका प्रवेश गरेका आप्रवासीहरूमाथि त्यहाँको अध्यागमनले निगरानी बढाएको छ । जसको मारमा नेपालीहरू पनि पर्न थालेका छन् ।





