काठमाडौं : प्रदर्शनकारीको तोडफोड र आगजनीको शिकार बनेको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास अहिले भग्नावशेषमा परिणत भएको छ।
धुवाँको कालो र जलेका नोटको खरानीले छोपिएको छ। तर, यो विनाशको दृश्यलाई समेत बिर्साउने गरी सयौं मानिसहरु यहाँ ‘खजाना’ खोज्न भेला भएका छन्। आगजनीको भोलिपल्ट बुधबार बिहानैदेखि देउवा निवासको भत्किएको गेटबाट मानिसहरूको ओइरो लाग्न सुरु भएको हो। मंगलबारको आक्रमणका क्रममा खिचिएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
जसमा घरभित्रबाट पैसाका नोटहरू हावामा उडिरहेको देखिन्थ्यो। त्यही भिडियोले ‘देउवाको घरमा लुकाएर राखेको अकूत सम्पत्ति छ’ भन्ने हल्लालाई डढेलोझैँ फैलाइदियो, जसले गर्दा सर्वसाधारणको भीड जलेको घरको भग्नावशेषमा आफ्नो भाग्य खोज्न आइपुगेका हुन्।





