काठमाडौँ : गीतकार नारायण खतिवडाले शब्द सिर्जना गरेको नयाँ गीत ‘जमाना आजकल’ हालै सार्वजनिक भएको छ ।
सार्वजनिक गरिएको गीतले शीर्षककै झल्को दिनेगरी वर्तमान समाजमा भइरहेको तीव्र सांस्कृतिक रूपान्तरण र त्यसका असरलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । गीतमा सामाजिक मूल्य–मान्यता आएको रूपान्तरणलाई चिरफार गरिएको छ ।
जीवन्त स्वर र संगीतको समिश्रण रहेको गीतलाई मनोज सङ्सोन राईले संगीत र एरेन्ज गरेका छन् । स्वरमा भने स्वयं मनोज सङ्सोन राईसँगै सुरेश पायल राई र बिनुसा राईको सुमधुर स्वर रहेको छ ।
गीतको भिडियोमार्फत् आफ्नो पहिचान जोगाउन सन्देश दिन चाहेको छ । गीतले संस्कृति, पहिरन र पहिचानको प्रश्न उठान गरेको पाइन्छ । जसमा दौरा–सुरुवाल, ढाका टोपी, गुन्यू–चोली, फरिया जस्ता नेपाली परम्परागत पोशाकलाई फेशनले विस्थापित गरिरहेको विषय उठाइएको छ ।





