काठमाडौं : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट सत्ता गुमाएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ ।
जेनजी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान चलाइएको हो ।
सार्वजनिक एक पोस्टरमा ओली र तत्कालीन गृहमन्त्री लेखकको फोटो राखिएको छ । जसमा उनीहरूलाई ‘हत्यारा’को रूपमा चित्रित गर्दै ‘हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौँ’ भनिएको छ ।
यसैगरी हामी नेपाल अभियानका संयोजक सुदन गुरुङले समेत सामाजिक सञ्जालमा उक्त पोस्टर पोस्ट गर्दै ओली र लेखकलाई पक्राउ गर्न माग गरेका छन् । उनीहरूलाई पक्राउ गर्न दबाब दिन ट्रेन्ड चलाउन उनले आह्वान गरेका छन् । जेनजी आन्दोलन दबाउन जिम्मेवार रहेको दाबी गर्दै यसअघि नै ओलीलगायतलाई राजधानीबाहिर जान समेत रोक लगाइसकिएको छ ।
जेनजी आन्दोलनका क्रममा ओली र लेखकको घरमा आगजनी र तोडफोड गरिएको थियो । आन्दोलनका क्रममा ओली सरकारले दमन गरेको जेनजीहरुको दाबी रहेको छ । ओली भने जेनजी आन्दोलनमा आफूले गोली चलाउन आदेश नदिएको र त्यो चलाएको गोली पनि नेपाल प्रहरीले चलाएको हुन नसक्ने दाबी गरेका छन् ।






