काठमाडौं : सप्तरीको अग्निसाइर कृष्णवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको खुट्टा मालिस गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मालिस गर्ने व्यक्ति वडा नम्बर ५ का कार्यबाहक वडाध्यक्ष हरि खंग हुन् । गत ५ असोजमा गाउँपालिका कार्यालयको सोफामा पल्टेका अध्यक्ष चौधरीको खुट्टा खंगले दबाएको भिडियोमा देखिन्छ । यो घटनाले चौधरीमाथि तानाशाही शासनको आरोप लागेको छ ।
घटना गाउँसभासँग जोडिएको छ । कानुनतः १० असारभित्र हुनुपर्ने गाउँसभा ४ असोजसम्म भएको थिएन । ५ असोजमा बोलाइएको सभाअघि अध्यक्ष र वडाध्यक्षहरूबीच नोकझोक भएको थियो । रुष्ट चौधरीले गाउँसभा नगर्ने अडान लिएका थिए ।
खंगका अनुसार, वडाध्यक्षहरूले गाउँसभा गराउन चौधरीलाई फकाउन उनलाई मालिस गर्न दबाब दिए । तलब-भत्ता रोकिएको चिन्ताले खंगले दुई मिनेट खुट्टा मालिस गरे । भिडियो अन्य वडाध्यक्षले खिचेका थिए । खंगले चौधरीलाई ‘काका’ भन्ने र चौधरीले उनलाई ‘बाबु’ भन्ने सम्बन्ध रहेको बताएका छन् ।





