काठमाडौं : नेकपा एमालेले वर्तमान अन्तरिम सरकार निर्वाचनको दिशामा नहिँडी मुलुकलाई तिक्तता, तनाव र मुठभेडतर्फ धकेल्ने गतिविधिमा संलग्न भएको आरोप लगाएको छ ।
शुक्रबार भक्तपुरको गुण्डुमा बसेको पार्टी सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रता दबाउने प्रयास गरिरहेको आरोप लगाए ।
एकातिर प्रहरीलाई हत्या गर्ने र हतियार लुट्नेहरूलाई गृह मन्त्रालयको दबाबमा सजिलै छाडिन्छ ज्ञवालीले भने, अर्कोतर्फ शान्तिपूर्ण प्रदर्शन गर्न खोज्ने दलहरूलाई रोक्ने, नेताहरूलाई स्थान हद गर्ने कार्य भइरहेका छन् । यस्तो प्रवृत्तिले सरकार निर्वाचनतर्फ नभइ द्वन्द्व र मुठभेडतर्फ उन्मुख भएको देखिन्छ।
ज्ञवालीका अनुसार, बैठकमा सरकारले हालसम्म गरेका क्रियाकलापको गम्भीर समीक्षा गरिएको छ। उनले भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनलाई स्वाभाविक आन्दोलनको रूपमा व्याख्या गर्दै त्यसका माग र शान्तिपूर्ण शैलीप्रति एमाले सकारात्मक रहेको जनाए । जेनजी आन्दोलन शान्तिपूर्ण हुने भनिएको थियो, निषेधित क्षेत्र नाघिन्न भन्ने भनाइ थियो, उनले भने, तर निषेधित क्षेत्र उल्लंघन हुँदा अवस्था दुःखद बन्यो ।
भदौ २४ गतेको घटनालाई लोकतन्त्र, संविधान र इतिहासप्रतिको गम्भीर आक्रमणको रूपमा एमालेले व्याख्या गरेको छ। उक्त घटनाको गहिरो र निष्पक्ष छानबिन हुनुपर्ने पार्टीको माग रहेको उनले स्पष्ट पारे ।





