सशस्त्र प्रहरी बलको झण्डा ‘चुलु फार इस्ट’ हिमालमा

२०८२ आश्विन २६, आईतवार

काठमाडौँ : सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेलसहित सात जनाले दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने ‘चुलु फार इस्ट’ हिमालको सफल आरोहण गरेका छन् ।

यही असोज २५ गते बिहान ७ बजे छ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराइएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । आरोहण गर्नेमा सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगी, नायब उपरीक्षक मनोज खड्का, निरीक्षकद्वय निर्मल बस्नेत र  रवि खकुरेल तथा नायब निरीक्षक दन्तबहादुर छन्त्याल र जवान कमल श्रेष्ठ छन् ।

आरोही मिङतेम्वा शेर्पा र सुम्बाछिरिङ शेर्पाको ‘गाइडलाइन्स’मा ‘फोर्टिन पिक्स एक्सपिडिसन’मार्फत उक्त हिमाल आरोहण गरिएको हो । पर्वतीय उद्धारको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिवृद्धि हुने विश्वाससहित आरोहरण गरिएको र यसले  पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सञ्चालन भइरहेको पर्वतीय उद्धार तालिमका लागि आवश्यक पर्ने प्रशिक्षकहरूको उत्पादनमा समेत यसले ठूलो भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरीको दाबी छ । सशस्त्र प्रहरीले चुलु फार इस्ट हिमाल आरोहण गर्न अनुमति खुल्ला गर्ने प्रक्रियामा पहलसमेत गरेको थियो ।

यसअघि चुलु इस्ट हिमालको अनुमति लिएर चुलु फार इस्ट हिमालको आरोहण गर्ने प्रचलन  थियो । सशस्त्र प्रहरीको यस आरोहणले चुलु फार इस्ट हिमाल आरोहण गर्ने कानुनी  वैधानिकतासमेत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार