काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरेका छन् ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशमा राजतन्त्रको आवश्यकता अपरिहार्य रहेको बताए ।
उनले भने, ‘राजा भनेको सबैलाई एकताबद्ध राख्ने साझा केन्द्र हो । धर्म देशको संविधानजस्तै हो । हामीलाई वर्तमान संविधान स्वीकार्य छैन ।’ उनले यो संविधानले देशको हित नगरेको आरोप लगाउँदै नागरिकहरू चाँडै पूर्वराजा ज्ञानेन्द्र शाहको निवास, निर्मल निवास पुग्ने दाबी गरे । प्रसाईँले हालैको राजनीतिक घटनाक्रम र सरकार गठनप्रति तीव्र असन्तुष्टि व्यक्त गरे ।
सुशीला कार्की नेतृत्वको सरकारप्रति लक्षित गर्दै उनले भने, ‘यो सरकार टिक्दैन, यो डलरको बलमा आएको हो ।’ उनले आफ्नो आन्दोलनलाई कसैले रोक्न नसक्ने जिकिर गरे । उनले आफ्नो अभियानको मुख्य उद्देश्य हिन्दु राष्ट्र स्थापना रहेको र त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए ।





