रवि र छविको फाइल सँगै पेस गर्न उच्च अदालत बुटवलको आदेश

२०८२ आश्विन ३०, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगोबमोजिम रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न गरेको मागमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ ।

उच्च अदालत बुटवलका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालले बिहीबार सो आदेश जारी गरेका हुन् । एकै प्रकृतिको मुद्दामा जोशीले पनि बिगोअनुसार रकम बुझाएर कारागारबाहिरै बसेर मुद्दाको पुर्पक्षका लागि माग गरेका थिए, तर जिल्ला अदालतले अस्वीकार गरेको थियो । त्यसपछि जोशीले उक्त आदेशविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए ।

यसअघि लामिछानेको माग पनि जिल्ला अदालतले अस्वीकार गरेपछि उनी उच्च गएका थिए । उच्चले यसअघि कैफियत प्रतिवेदन पेस गर्ने आदेश गरेको थियो । जेनजी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भएको थियो । तर, आगजनी र तोडफोडमा लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो ।

बचेका फाइलमध्ये बिहीबार लामिछानेको मुद्दाको पेसी चढेको थियो । न्यायाधीशद्वय राई र अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार