काठमाडौँ : नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीमाथि अन्तर्राष्ट्रिय शक्तिहरुले योजनाबद्ध षड्यन्त्र गरेको दाबी गरेका छन् । पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले सुरुमै यस्तो टिप्पणी गरेका हुन् ।
बस्नेतले केन्द्रीय कमिटी बैठकमा राखेको धारणासमेत सार्वजनिक गरेका छन् । जहाँ भनिएको छ,‘राष्ट्रवाद, समृद्धि र विकासको पक्षमा अभूतपूर्व काम गरेको प्रतिफलस्वरूप हाम्रो पार्टी र अध्यक्षमाथि अन्तर्राष्ट्रिय शक्तिहरूले योजनाबद्ध षड्यन्त्र गरेका छन्। उक्त षड्यन्त्रअन्तर्गत ‘जेन्जी पुस्ता’लाई माध्यम बनाएर देशका महत्वपूर्ण संरचना, राज्यका संवेदनशील दस्ताबेज र सम्पदाहरू ध्वस्त पार्ने अभियान सञ्चालन गरियो। यस क्रममा नागरिकका निजी घर र सम्पत्तिसमेत नष्ट गरिँदा अरबौ मूल्य बराबरको क्षति पुगेको छ।’
उनले भदौ २३–२४ का घटनाहरू कुनै स्वतःस्फूर्त आन्दोलन नभएको दाबी गरे । ती आन्दोलनको आवरणमा गरिएका योजनाबद्ध हमला भएको उनको दाबी छ । उनले भने,‘हमलाको लक्ष्य राष्ट्र, संविधान र सम्बृद्धि र लोकतन्त्र थियो, जसका कारण एमालेलाई प्रत्यक्ष रूपमा टार्गेट बनाइयो।’ नेपाली र वास्तविक जेन्जी पुस्ताका माग व्यवस्था परिवर्तन नभएर अवस्थामात्रै परिवर्तन भएको उनको भनाई छ । उनले भने,‘उनीहरूको असन्तोष भ्रष्टाचार, नाताबाद र सामाजिक सञ्जालमा आफ्नो आवाजको पहुँच घट्ने डरसँग जोडिएको थियो। तर बाह्य शक्तिहरूले यही असन्तोषलाई प्रयोग गरेर देशविरोधी दिशामा मोडिदिए।’
ब्ल्याक–एनर्जीको प्रतीक ‘लुसिफर’ को नामले चिनिदै आएको बालेन, जेल तोडेर जनता झुक्याउन खोजिरहेका रवि लामिछाने र उनको स्वतन्त्र पार्टी र मौकामा चौका हान्ने प्रचण्ड भदौ २३ र भदौ २४ गतेका आन्दोलनका मुख्य मतियार भएको बस्नेतको आरोप छ । उनले बालेन, रवि लामिछाने र प्रचण्डलाई उचित कारबाही गरिनुपर्ने माग गरे । उनले अहिले पार्टीमा नेतृत्व परिवर्तन अनावश्यक तर्क भएको टिप्पणी गरे । उनले थपे,‘अध्यक्षको ब्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनुपर्छ।’





