चितवन : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि चितवन राइनोजले तीन जना विदेशी खेलाडी अनुबन्ध गरेको छ।
पहिलो संस्करणमा समेत खेलेका पाकिस्तानका सोहेल तन्विर र इंग्ल्यान्डका अलराउन्डर रवी बोपारासँगै इंग्ल्यान्डकै ब्याटर डेविड मलान यस संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका हुन्।
राइनोजले मंगलबार चितवनमा आयोजित ट्रफी टुर कार्यक्रममा तीन विदेशी खेलाडी अनुबन्ध भएको घोषणा गरेको चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले जानकारी दिए। उनका अनुसार नारायणगढस्थित क्याम्पाचौरम भएको ट्रफी टुरमा समर्थकको उपस्थितिमा एनपिएलको ट्रफी सार्वजनिक गरिएको थियो। सो अवसरमा ‘फेस अफ द राइनोज’ पनि घोषणा गरिएको थियो।
जसमा राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा, नायिका नीति शाह र चितवन महिला क्रिकेट टिमकी कप्तान हेलिशा गुरुङ चितवन राइनोजका ब्राण्ड एम्बेसडरको रूपमा रहने छन्। निर्देशक देवकोटाका अनुसार थप तीन विदेशी खेलाडी छिट्टै सार्वजनिक गरिनेछ।
एनपिएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि सुरु हुँदैछ।





