काठमाडौं : यही कार्तिक १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘परान’को ट्रेलर सार्वजनिक गरिएको छ ।
मंगलबार काठमाडौंको रञ्जना हलमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर पारिवारिक कथावस्तुमा आधारित छ। विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यता खोजी रहेका एक बाबुको पीडालाई चलचित्रको ट्रेलरमा देखाइएको छ।
बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षाहरुलाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई चलचित्रले पस्केको छ। चलचित्रको शीर्ष भूमिकामा निर शाहले अभिनय गरेका छन् । ‘परान’ लाई काकु उपनामले परिचित निर्देशक दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशकीय चलचित्र हो। आचार्यकै कथा रहेको यस चलचित्रको पटकथा र संवाद यम थापाले तयार पारेका छन् ।





