काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको भयानक विध्वंसको जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अडान र अहंकार भएको आरोप लगाएका छन्।
बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रममा उनले भने, ‘यदि ओलीले २३ गते नै राजीनामा दिएका भए, २४ गतेको भीषण क्षति हुन सक्दैनथ्यो । ‘
उनका अनुसार जेन्जी आन्दोलनको पहिलो दिनदेखि नै युवाहरूको मागप्रति संवेदनशील हुन सरकारलाई पटक–पटक आग्रह गरिए पनि सरकार दमनमा उत्रिएको थियो । उनले भने, ‘२३ गते जेन्जी पुस्ताका युवाहरूले गरेको आन्दोलन र त्यसलाई दबाउन सरकारले गरेको बर्बर दमन र नृशंस हत्या इतिहासमा एउटा नबिर्सिने परिघटना बनेको छ।’
युवाले आन्दोलनको घोषणा गरेलगत्तै तत्काल सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको उनले स्मरण गरे। ‘यी युवाका मागहरू जायज र सही छन् किनकि ती मागहरू माओवादी केन्द्रले १० वर्षदेखि उठाउँदै आएकै माग थिए,’ उनले भने।





