कात्तिक : नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका नेताहरू क्रमशः आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।
बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली ‘हावादारी कुरा गर्ने’ नेता भएको टिप्पणी गरे । ‘अहिलेसम्म १२ वटा राजनीतिक दलहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेका छन्,’ उनले भने, ‘केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’
गत कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका विभिन्न राजनीतिक दल र समूहहरूले एकीकरण गर्दै नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन गरेका थिए । प्रचण्डले वाम शक्तिहरूलाई एउटै शक्तिशाली कम्युनिस्ट पार्टीमा एकीकृत गर्दै देशलाई स्थायित्व र विकासको बाटोमा अघि बढाउने दाबी पनि गरे ।





