नहुने चुनावको पछि एमाले लाग्दैन : शङ्कर पोखरेल

२०८२ कार्तिक ३०, आईतवार

काठमाडौँ :  नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन नहुने दाबी गरेका छन् ।

सुर्खेतमा शनिवार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले चुनावका नाममा देशमा थप षड्यन्त्र भइरहेकाले यसको औचित्य नरहेको बताए  । ‘चुनावका नाममा मुलुकमा षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘देशलाई चुनावको नाम दिएर भइरहेको षड्यन्त्रमाथि प्रहार एमालेले गरिरहेको छ । हुँदै नहुने चुनावका पछाडि एमाले लाग्दैन ।’

उनले जेनजी आन्दोलनपछि संविधानविपरित गठन भएको सरकार र प्रतिनिधिसभा विघटन एमालेका लागि मान्य नहुने बताए । २३ र २४ भदौपछि गठन भएको सरकारले लोकतन्त्र कमजोर बनाउन लागि परेको उनले बताए । ‘प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि संविधान भित्रबाट यही सांसदबाट निकास खोज्न आग्रह गर्दा पनि संविधानले नचिन्ने सरकार बन्यो । सरकार निर्माण र प्रतिनिधिसभा विघटन संविधानविपरित छ,’उनले भने ।

विघटित सांसदलाई ब्युँताएर  संविधान संशोधनमार्फत विद्यमान राजनीतिक सङ्कटबाट देशलाई बाहिर निकाल्न एमालेले चाहेको उनले बताए । उनले लोकतन्त्रलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुरस्थापनाको मुद्दामा सबै राजनीतिक दल एक ठाउँमा उभिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार