काठमाडौं : स्थानीय बजारमा कुखुरा मासुको मूल्य बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज सोमबारदेखि लागु हुने गरी मूल्य बढेको हो ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म बढेको जानकारी दिए ।मूल्य बढेसँगै जिउँदो कुखुरा प्रतिकिलो २ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय २० रुपैयाँ थियो । उपभोक्ताले भने प्रतिकिलो २ सय ५० रुपैयाँमा जिउँदो कुखुरा खरिद गर्न पाउने अध्यक्ष बिसीले बताए ।
यस्तै तयारी कुखरा मासुको मूल्य पनि बढेको छ । तयारी मासु प्रतिकिलो १५ रुपैयाँले बढेको हो । तयारी मासुको मूल्य ३ सय २५ रुपैयाँ पुगेको अध्यक्ष बीसीले बताए ।
बीसीका अनुसार जाडो बढ्दै गएपछि कुखुरा उत्पादन घट्ने भएकाले मूल्यवृद्धि भएको हो । ‘चिसोमा उत्पादन कम हुन्छ,’ उनले भने, ‘उत्पादन कम हुँदा बजारमा कुखुरा अभाव हुने र त्यसले मूल्य बढ्ने हुन्छ ।’





