काठमाडौं : निर्माण सामाग्री उत्पादन एवम् वितरणमा छुट्टै पहिचान बनाउन सफल कम्पनी नेपाटप अर्गनाईजेसन लुम्बिनी लायन्ससँग जोडिएको छ ।
काठमाडौंमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्ससँग नेपाटपले सहकार्य गरेको हो । नेपाटप अध्यक्ष दिपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सहकार्यको सहमतिपत्रमा हस्ताक्षण गरे । सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष जिसीले नेपाटप जस्तो प्रतिष्ठित ब्राण्डसँगको साझेदारीले टोलीलाई हौसला प्रदान गर्ने बताए ।
नेपाटपका अध्यक्ष श्रेष्ठले पछिल्लो समय सबै पुस्तामा लोकप्रिय रहेको क्रिकेट खेलको विकासमा बुद्धभुमिको सन्देश बोकेको लुम्बिनी लायन्ससँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।
पछिल्लो समय क्रिकेट प्रतियोगिता मार्फत खेलकुदमा जोडिएको नेपाटप वाटर टैंक, पीपीआर पाइप तथा फिटिङस्, यूपीभीसी पाइप तथा फिटिङस्, सीपीभीसी पाइप तथा फिटिङस्, यूपीभीसी झ्याल ढोका, एचडीपीई पाइप, डीडब्ल्यू, सी पाइप, स्टेनलेस स्टिल पाइप, स्टेनलेस स्टिल टैंक लगायतका विभिन्न निर्माण सामाग्री उत्पादन तथा पानी तान्ने पम्प, ग्यास गिजर, इलेक्ट्रिक गिजर लगायतका सामाग्रीहरु वितरण गरिरहेको स्वदेशी बजारमा प्रचलित ब्राण्ड हो ।
सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाटप अर्गनाईजेशनका प्रबन्ध निर्देशक अमृत प्रसाद द्धा, वरिष्ठ बजार व्यवस्थापक विनोद महत एवं लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको उपस्थिती रहेको थियो । राष्ट्रिय टोलिका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सबाट नेपाली सहित अष्ट्रेलिया, अफगानीस्थान, नामिबिया र ईटालीका अन्तराष्ट्रिय खेलाडीहरुले खेल्नेछन् ।





