काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम भजाएर पार्टीमा विवाद नगर्न सचेत गराएका छन् ।
महाधिवेशनको विषयमा विवाद चुलिँदै गएपछि बिहीबार संस्थापन पक्षीय शीर्ष तहका नेताहरूलाई छलफलमा बोलाएर उनले आफ्नो नाम भजाएर विवाद नगर्न सचेत गराएका हुन् । छलफलमा सहभागी एक नेताका अनुसार सभापति देउवाले विशेष महाधिवेशनमा गए पार्टी फुट्ने र आफूलाई त्यो सह्य नहुने धारणा व्यक्त गरेका थिए ।
‘साथीहरू चुनाव अघि र पछि महाधिवेशनको पक्षमा उभिएपछि सभापतिज्यूले हामी सबैलाई हर्कानु भयो‚’ ती नेताले भने‚ ‘सभापतिज्यूले मेरो नाम लिएर पार्टीमा विवाद किन गरिरहेको भन्दै हप्काउनु भयो।’ ‘अहिले पनि मैले कार्यवाहक दिइसकेको छु र कार्यकारी भूमिकामा छैन । फेरि पनि महाधिवेशनबाट म हुने हैन‚’ सभापति देउवाको भनाई उद्ध्रीत गर्दै ती नेताले भने‚ ‘मलाई किन विवादमा तानिरहेको ?’
‘विशेष महाधिवेशन नगर्नुस्, नियमित महाधिवेशन गर्नुस्‚’ देउवाको भनाइ उधृत गर्दै ती नेताले भने‚ ‘विशेषले पार्टी फुटाउँछ । पार्टी फुटेको, टुटेको म हेर्न सक्दिनँ ।’





