काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी(नेकपा) नेता डा. भीम रावलले सरकारले तोकिएकै समयमा प्रतिनिधि सभा चुनाव हुनेमा शंका उत्पन्न भएको बताएका छन् ।
डोटीमा आयोजित ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उनले सरकार चुनावभन्दा अन्य कुरामा व्यस्त रहेको आरोप लगाए । रावलले भने, ‘लुटिएका हजारौँ गोलीगट्ठा, घातक हतियार नियन्त्रणमा लिन सकेको छैन । कयौँ कैदीबन्दी अझै फरार छन् । शान्ति सुरक्षाको स्थिति सरकारले जसरी केलाएर हेर्नुपर्छ, त्यो गरिरहेको देखिँदैन।’
उनका अनुसार सरकारले सबै दललाई निर्भीक रूपमा निर्वाचनमा सहभागी हुने वातावरण बनाउनुपर्छ । निर्वाचनमा आन्तरिक वा बाह्य कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने उनले स्पष्ट पारे । उनले राष्ट्रको एकता नटुक्रिने र सामाजिक सद्भाव नबिथोलिने काम गर्न सरकारलाई सुझाव दिएका छन् ।
फरक प्रसंगमा रावलले नेकपा एमालेको ११औँ महाधिवेशनबाट एमालेलाई अध्यक्ष केपी शर्मा ओलीको पकडबाट मुक्त गर्नुपर्ने टिप्पणी गरे। ‘एमालेले उहाँ (ओली) लाई स–सम्मान बिदाइ गर्ने अवसर महाधिवेशन प्रतिनिधिले विवेकपूर्वक उपयोग गर्नुपर्छ।’ उनले भने ।





