उत्तरगया धाममा १५ हजार बढीले पिण्ड तर्पण गरे

२०८२ पुष ५, शनिबार

रसुवा : दिवङ्गत पितृहरूको सम्झना गर्दै १५ हजारभन्दा बढी भक्तजनले शुक्रबार बेत्रावतीस्थित उत्तरगया धाममा पिण्ड तर्पण गरेका छन् । हरेक वर्षको पुसे औँसीका दिन आफ्ना पितृहरूलाई स्मरण गर्दै पिण्ड तर्पण गर्न हजारौँ भक्तजन उत्तरगया धाम आउने गर्दछन् ।

पिण्ड तर्पण एवं श्रद्धाको लागि नजिकका रसुवा, नुवाकोट, धादिङसहित काठमाडौँ, भक्तपुर, ललितपुर, काप्रेपलाञ्चोक, मकवानपुर, बारा, गोर्खा, तनहुँ, लमजुङ, कास्की, पाल्पालगायतका जिल्लाबाट उल्लेखनीय सङ्ख्यामा भक्तजन यहाँ आउने गरेको स्थानीय शिक्षक गणेश श्रेष्ठले जानकारी दिए ।

जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेका अनुसार यस वर्ष ‘शुक्रअस्त’ भएकाले गत वर्षको तुलनामा केही कमी भई १५ हजारभन्दा बढी भक्तजनले पिण्ड तर्पण गरेका छन् । नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बलसम्मिलित संयुक्त सुरक्षा फौजको सक्रियताका कारण सुरक्षा एवं ट्राफिक व्यवस्थापनमा कुनै पनि समस्या नआएको प्रमुख घिमिरेले बताए ।

होटलमा खाना नखाने करिब सात हजार भक्तजनका लागि रसुवाली सिमीबाट पकाइएको तरकारीसहित जेरी, पुरी, हलुवाको परिकार निःशुल्क रूपमा व्यवस्था गरिएको थियो । उत्तरगया गाउँपालिकाको सहयोगमा भक्तजनहरूका लागि निःशुल्क रूपमा भोजनको व्यवस्था गरिएको सो धामका अध्यक्ष रामहरि अधिकारीले जानकारी दिए ।

दिवाङ्गत पितृहरूको सम्झनामा तर्पण गर्न उल्लेखनीय सङ्ख्यामा उपस्थित भक्तजनका कारण भिडभाड रहेको उत्तरगयधाम क्षेत्र अहिले सुनसान भएको अध्यक्ष अधिकारीले बताए । धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको पवित्र उत्तरगया धाममा परापूर्वकालदेखि आफ्ना दिवाङ्गत आफन्तजनको सम्झनामा पिण्ड तर्पण गरी पितृ उद्धार गर्ने चलन रहिआएको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार