काठमाडौँ : सञ्चारमन्त्री जगदीश खरेलले देश चुनावमय बनिसकेको दाबी गरेका छन्। एमाले पार्टी कार्यालय निरीक्षण पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै फागुन २१ गते तोकिएको निर्वाचन मितिलाई लिएर सरकार सम्पूर्ण तयारीका साथ अघि बढिरहेको बताए।
एमाले पनि चुनावको पक्षमा रहेको दाबी गर्दै उनले भने, ‘निर्वाचन आयोग आफ्नो काममा सक्रिय छ, सुरक्षा निकायहरू उच्च मनोबलका साथ परिचालित छन्। निर्वाचनको वातावरण निर्माणको सन्दर्भमा एमालेले वातावरण बनाइदिनुहोस्, हामी निर्वाचनमा सहभागी हुन्छौँ भन्ने कुरा पार्टीका महासचिवले स्पष्ट रूपमा राख्नुभएको छ।’
सरकारको तर्फबाट आफूहरूले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाइदिने प्रतिबद्धता व्यक्त गरेको बताए।
उनले भने, ‘कुनै पनि नेता वा कार्यकर्तालाई निर्वाचन प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआओस् भन्ने सुनिश्चितता सरकारले गर्नेछ। नेताहरू सहज रूपमा मत माग्न बाहिर जान पाउँछन् कि पाउँदैनन् भन्ने कुरा छ। यी सबै वातावरण मिलाउने प्रतिबद्धता हामीले गरेका छौँ।’
एमाले अध्यक्ष केपी ओलीलाई स्थानहद तोकिएकोबारे उनले थपे, ‘सरकार आफ्नो अधिकार क्षेत्राधिकार, कानुन र प्रक्रियाभित्र रहेर सम्पूर्ण वातावरण मिलाउनेछ। आयोगले गरिरहेको काममा कुनै नकारात्मक असर नपर्ने गरी सरकार अघि बढ्नेछ। तर निर्वाचनमा सहभागी हुन उठाइएका जायज मागहरूलाई पनि सरकारले बेवास्ता गर्न सक्दैन।’
कानुनी र प्रक्रियागत ढङ्गले जिम्मेवारीपूर्वक मागहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले थपे, ‘यो नागरिकको सरकार हो। मैले पहिल्यै भनेको छु यो सरकारले न त अन्याय गर्छ, न त कसैलाई अन्याय हुन दिन्छ।’





