सभापतिले नाममात्रैको कार्यवाहक दिनुभयो : गगन थापा

२०८२ पुष ९, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।

पार्टीमा कार्यवाहक दिने, बैठकहरूमा नआउने तर शक्तिको अभ्यास आफूले जारी राखेको भन्दै महामन्त्री थापाले सानेपाबाटै असन्तुष्टि व्यक्त गरेका हुन्। महामन्त्री थापाले भने,’पार्टी सभापतिजीले कार्यवाहक दिनुभएको छ तर नाम मात्रको कार्यवाहक। सभापतिजी बैठकमा आउनुभएको छैन तर बाँकी सबै शक्ति त्यहीँबाट अभ्यास भइरहेको छ।’

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सभापति देउवामाथि आक्रमण भएको थियो। बूढानीलकण्ठस्थित घरमा आगजनी भएपछि उनी र श्रीमती सिंगापुरमा उपचार गराएर स्वदेश फर्किए। त्यसपछि सभापति देउवा पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। महामन्त्री थापाले सभापतिलाई पार्टीको सर्वोत्तम हितमा चिन्ता गर्न र तोकिएको समयमा महाधिवेशन गर्ने वातावरण बनाउन आग्रह गरे।

उनले क्रियाशील सदस्यता वितरण र नवीकरणको जिम्मेवारी वडा, क्षेत्र र जिल्लामा बढी भएको बताउँदै, आफू संयोजक रहेको क्रियाशील व्यवस्थापन समितिले केवल समन्वयको भूमिका मात्रै गर्ने स्पष्ट पारे । कांग्रेसले मंसिर १५ मा केन्द्रीय समिति बैठकबाट पुस १६ देखि २६-२८ सम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको थियो। तर करिब ५३ जिल्लामा क्रियाशील सदस्यता अझै नवीकरण हुन नसक्दा अधिवेशन समयमै हुने सम्भावना न्यून बन्दै गएको छ ।

महामन्त्री थापाले आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा तीन तहको मात्र अधिवेशन गर्न प्रस्ताव राखेका छन् । पुस १६ को वडा अधिवेशन केही दिन सारेर । क्षेत्रीय महाधिवेशन र केन्द्रीय महाधिवेशन गर्ने योजना रहेको उनले जानकारी दिए। यस विषयमा छलफल अझै एक/दुई दिन जारी रहने र पुस २६-२८ सम्म नियमित अधिवेशन नहुने भए विशेष महाधिवेशन गर्ने तयारी रहेको महामन्त्री थापाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार