काठमाडौं : नेपाली काँग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले समयको मागअनुसार हरेक राजनीतिक दलले आफ्ना संरचना, सोच र अभ्यासलाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेकाले पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताउदै उनले समाजिक सञ्जाल फेसबुकमार्फत अत्यधिक द्वन्द्व र अनावश्यक झगडाबाट मुलुकले निकास नपाउने स्पष्ट पारेका छन् ।
संविधान संशोधनको विषयमा आफ्नो गहिरो चासो रहेको जनाउँदै नेता भण्डारीले यस सम्बन्धमा सबै पक्ष, अनुभवी व्यक्तित्व तथा विज्ञहरूसँग खुलेर छलफलमा सहभागी हुनसमेत आफू इच्छुक रहेको उल्लेख गरेका छन् । संवाद, समझदारी र सहमतिबाट मात्र समाधान सम्भव रहेकाले सानो विषयलाई अनावश्यक रूपमा ठूलो बनाएर विवाद सिर्जना गर्नु नबुद्धिमानी हुने उनको भनाई छ । समस्या समाधानतर्फ केन्द्रित बहस नै आजको आवश्यकता रहेकाले तिललाई पहाड नबनाई पहिला “मुलुक“ भन्ने सोच राख्नुपर्ने उनले धारणा राखेका छन् ।






