काठमाडौं : ल्हेन्दे खोलामा आएको बाढीका कारण असार २४ गतेदेखि बन्द रहेको रसुवागढी नाका सञ्चालनमा आएको छ ।
ल्हेन्दे खोलामा बेलीब्रिज निर्माण सकिएकाले आइतबार बिहानदेखि नै नेपाली ट्रकका चालक केरुङतर्फ जान सुरु गरेका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले रसुवागढी नाका सञ्चालनमा आएको जानकारी दिए । यद्यपी यही पुस १७ गतेदेखि रसुवागढी नाका औपचारिक रुपमा खोल्ने जानकारी चिनियाँ समकक्षीले गराएको पन्थीले बताए ।
गत २४ असार अगाडि सामग्री लिन केरुङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत आइतबार केरूङतर्फ प्रस्थान गरेका सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए।





