काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट डा. अरनिको पाँडेले नाम फिर्ता लिएको घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत पाँडेले नाम फिर्ता लिएको घोषणा गरेका हुन् । पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी आइतबार बसेको केन्द्रीय समिति बैठकमा नाम फिर्ता लिने निर्णय सुनाएको बताएका छन् ।
‘म सधैँ देश र समाजलाई सबैभन्दा ठुलो योगदान दिनसक्ने बाटो खोज्ने र रोज्ने गर्छु। पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ । मलाई बन्दसूचीमा पुर्याउने सबै साथीहरूलाई फेरि एकपटक धन्यवाद दिँदै रास्वपालाई आउँदो चुनावमा जिताउनेतिर ध्यान दिनेछु’, उनले लेखेका छन् ।
पाँडेसँगै रास्वपाले बुझाएको बन्दसूचीबाट नाम फिर्ता लिनेको सङ्ख्या ६ पुगेको छ । यसअघि गायिका त्रिशाला गुरुङ, अभिनेता आसिफ शाह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, पर्वतारोही टासी शेर्पा र अभियन्ता डा. महेन्द्र लावतीले नाम फिर्ता लिएको घोषणा गरेका थिए । रास्वपाले आन्तरिक प्रतिस्पर्धामा अब्बल अङ्क ल्याएका व्यक्तिलाई पछाडि राखेर सेलिब्रेटी, व्यवसायी छविका व्यक्तिलाई प्राथमिकता दिएकोमा पार्टीभित्र र बाहिर आलोचना भएको थियो । बन्दसूचीको नामावली संशोधन गर्नका लागि आजदेखि पुस २८ गतेसम्म समय दिएको छ ।





