काठमाडौं : सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ।
पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको हो। बैठकका निर्णयहरू सुनाउँदै अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले माघ ४ गते ११ बजे संघीय संसदको राष्ट्रिय सभाको अधिवेश आह्वान गर्ने निर्णय गरेको बताए।
उनकाअनुसार सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।
यस्ता छन् निर्णयहरू
– संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
– अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने ।
– वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने ।
– २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि अमेरिकी डलर तीन लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने ।
– मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने ।
– अर्थ मन्त्रालयका सचिव (राजस्व) भूपाल बरालको मेक्सिको भ्रमण स्वीकृत गर्ने
– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलकाे चीन भ्रमण स्वीकृत गर्ने
– नेपाल न्याय सेवा कानुन सेवातर्फका राजपत्रांकित प्रथम श्रेणीका आठजना अधिकृतहरूको बढुवा र पदस्थापन गर्ने
– इटालीको रोममा आयोजना हुने कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदन परियारलाई सहभागी हुने स्वीकृत दिने
– म्यानमारमा भइरहेको तेस्रो चरणको निर्वाचनमा पर्यवेक्षकका रूपमा सहभागी हुन निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरलाई स्वीकृति प्रदान गर्ने
– समस्याग्रत संस्था वा संघको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य उद्धवप्रसाद तिमल्सिनाको राजीनामा स्वीकृत गरी उक्त पदमा मधुकर राना, ललितपुरलाई मनोनयन गर्ने
– नेपाली सेनाका तीन महासेनानीको सहायकरथीमा बढुवा गर्ने र दुईजना महासेनानीको सरुवा गर्ने
– मोरक्कोमा आयोजना बालश्रम उन्मुक्तिसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई स्वीकृति प्रदान गर्ने
– स्पेनको म्याड्रिडमा आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलालाई सहभागी हुन स्वीकृति दिने
– दलितको हकअधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने
– इलामको फिक्कल, सोलुखुम्बुको सोताङ, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने गरी दरबन्दी तेरिज स्वीकृत गर्ने
– स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने डब्लुएचओको कार्यक्रममा सहभागी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई स्वीकृति दिने
– गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने
– प्रधानमन्त्रीको प्रेस सल्लाहकामा रामबहादुर रावल, बाजुरालाई नियुक्त गर्ने





