काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन्।
शनिबार केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले राजनीतिक दलहरू निर्वाचनका लागि सम्पूर्ण रूपमा तयार हुनुपर्ने बताउँदै संसद् पुनःस्थापनाको पछाडि नलाग्न जोड दिए। निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै पूर्वप्रधानमन्त्री दाहालले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलता समाधान गरी सुशासन कायम गर्नुपर्ने विचार राखे।
उनले समान वैचारिक दृष्टिकोण रहेका बाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको बताउँदै केही दिनभित्र अन्य पार्टीसँग पनि एकता गरिने जानकारी दिए। कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य नेतृत्वको टोलीलाई नेकपामा स्वागत गरिएको थियो।





