भरतपुर महानगरका वरिष्ठ इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

२०८२ माघ १३, मंगलवार

काठमाडौँ : चितवनस्थित भरतपुर महानगरपालिकामा कार्यरत रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सार्वजनिक पदको दुरुपयोग गरी आचार्यले करिब ६ करोड ७८ लाख ९१ हजार रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको ठहरसहित अदालतमा अभियोग पत्र दर्ता गरिएको हो।

अनुसन्धानका क्रममा आचार्यले अवैध रूपमा आर्जन गरेको रकमबाट आफ्नी पत्नी लिली सुवेदीको नाममा समेत विभिन्न सम्पत्ति खरिद गरेको देखिएको आयोगको निष्कर्ष छ। सोही कारण प्रचलित कानुनअनुसार ती सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुवेदीलाई पनि प्रतिवादीका रूपमा मुद्दामा समावेश गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार आचार्य तथा उनका एकाघर परिवारका सदस्यहरूको वैधानिक आम्दानी करिब ३ करोड ५१ लाख रुपैयाँ रहेको देखिन्छ। तर आम्दानी, खर्च र बैंक मौज्दातको समग्र मूल्यांकन गर्दा सो रकमभन्दा अत्यधिक, करिब ६ करोड ७८ लाख रुपैयाँ बराबरको सम्पत्ति अस्वाभाविक रूपमा थप भएको पाइएको छ।

वैधानिक स्रोतबाट पुष्टि हुन नसक्ने उक्त अतिरिक्त सम्पत्ति सार्वजनिक पदमा रहँदा आर्जन गरिएको ठहरसहित आचार्य र सुवेदी दुवैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले स्पष्ट पारेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार