निर्वाचन बिथोल्न चाहने शक्तिहरू अहिले पनि सक्रिय छन् : नेकपा

२०८२ फाल्गुन ५, मंगलवार

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीले देश दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको निष्कर्ष निकालेको छ।

आज पार्टी मुख्यालय पेरिडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले जारी गरेको वक्तव्यमा एकातिर दलाल र बिचौलियाको आडमा कुशासनका शृङ्खलाहरू चलाउने र अभिव्यक्ति स्वतन्त्रता एवं सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने अतिवादी प्रवृत्ति हाबी भइरहेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतर्फ, जनभावनालाई निहित समूहहरूको स्वार्थमा प्रयोग गर्दै लोकतन्त्रका आधार स्तम्भ मानिने राष्ट्रपति भवन, व्यवस्थापिका संसद्, सिंहदरबार, सर्वोच्च अदालत जस्ता राष्ट्रिय सम्पदामाथि आगजनी र आक्रमण गर्ने अर्को अतिवाद छ । हामी निहत्था युवाहरूको हत्या गर्नेहरू र निहत्था सुरक्षाकर्मी तथा नागरिकलाई आगोमा जल्न बाध्य पार्ने तथा राजनीतिक लाभका लागि उपयोग गर्ने दुवै प्रकारका अतिवादको सशक्त विरोध गर्दछौँ।’

यी दुवै अतिवाद हाम्रो लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र समृद्धिका लागि गम्भीर रूपमा हानिकारक रहेको वक्तव्यमा उल्लेख छ।

‘देश संवेदनशील अवस्थामा छ। निर्वाचन बिथोल्न चाहने शक्तिहरू अहिले पनि सक्रिय छन्। यस परिस्थितिमा, स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । विभिन्न पक्षबाट कतिपय प्रसङ्गमा दलहरूपिच्छे आचारसंहिता अनुगमनमा फरक व्यवहार तथा आचारसंहिता उल्लङ्घनविरुद्ध प्रभावकारी निगरानी र कारबाही नगरेको जस्ता प्रश्नहरू निर्वाचन आयोगमाथि उठाइएका छन्।’ विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

जटिल परिस्थितिमा निर्वाचन गर्न लागेको आयोगले आफूमाथि प्रश्न उठ्न नदिन, जनतामा भ्रम छरिनबाट रोक्न तथा आचार संहिताविपरितका सबै गतिविधिहरूविरुद्ध प्रभावकारी कदम चाल्दै जनताको विश्वास कायम राख्नुपर्ने उल्लेख छ।

वर्तमान संकटबाट देशलाई बाहिर निकाल्न, स्वाधीनता र सार्वभौमसत्ता तथा राष्ट्रिय एकता सुदृढ गर्न र स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चित गर्न नेपाल सरकार, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत सबै पक्षलाई उच्चतम इमानदारी, जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्न गर्न आह्वान समेत गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार