काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन हुन अझै एक साताभन्दा बढी समय लाग्न सक्ने बताएकाे छ । पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बिहान पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका प्रवक्ता मनिष झाले यस्ताे बताएका हुन् ।
उनका अनुसार आवश्यक संवैधानिक र प्रशासनिक प्रक्रियाहरू बाँकी रहेकाले सरकार गठनमा केही समय लाग्न सक्नेछ ।
सरकार गठनबारे सोधिएको प्रश्नमा उनले प्रक्रियागत कामहरू अझै बाँकी रहेको उल्लेख गरे। संसद् सचिवालयले आवश्यक तयारी गर्नुपर्ने, निर्वाचन आयोगले निर्वाचन प्रक्रियाको अन्तिम विवरण राष्ट्रपति कार्यालयमा बुझाउनुपर्ने तथा त्यसपछि समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्नुपर्ने भएकाले समय लाग्न सक्ने उनले बताए।
झाका अनुसार यी सबै काम फरक–फरक निकायको जिम्मेवारीभित्र पर्ने भएकाले ठ्याक्कै समय तोक्न कठिन भए पनि अनुमानतः करिब १० दिनभित्र नयाँ सरकार गठन हुन सक्ने देखिएको छ।
‘…सबै कुरा हामीले चाहेअनुसार हुँदैन । संसद सचिवालयले आफ्नो आवश्यक तयारी गर्नुपर्ने हुन्छ, निर्वाचन आयोगले निर्वाचन प्रक्रियाको अन्तिम विवरण राष्ट्रपति कार्यालयमा बुझाउन नै बाँकी छ, अन्य काम पनि बाँकी नै छन्’, झाले भनेका छन्, ‘ हामी अन्दाज एउटा गर्न सक्छौं कि अझै १० दिन जस्तो लाग्ला ।’
अहिले रास्वपाकाे सचिवालय बैठक जारी छ । बैठकले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नामावली टुंग्याउनेछ । साथै, आज नै समानुपातिक उम्मेदवारहरूको नामावली निर्वाचन आयोगमा बुझाउनु पर्नेछ ।





