यूएईस्थित अस्ट्रेलियाली सैन्य आधारनजिकै खस्यो इरानी क्षेप्यास्त्र

२०८२ चैत्र ४, बुधबार

काठमाडौँ : संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको अस्ट्रेलियाको सैन्य आधारनजिकै इरानी क्षेप्यास्त्र खसेको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजका अनुसार ‘इरानी क्षेप्यास्त्र आज बिहान ९:१५ बजे यूएईमा रहेको अस्ट्रेलियाको आधार शिविर अल मिनहाद बेसमा खसेको हो।’

उनले भनेका छन्, ‘म पुष्टि गर्न सक्छु- कुनै पनि अस्ट्रेलियाली कर्मचारी घाइते भएका छैनन्, सबै पूर्ण रूपमा सुरक्षित छन्।’

तर क्षेप्यास्त्र बेस जाने बाटोमा खसेका कारण आगलागी हुँदा एउटा निवास र एक चिकित्सा केन्द्रमा सामान्य क्षति भएको उनले बताएका छन्।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।

बदलामा इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

यसैबिच इजरायलले मंगलबार मात्र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको पनि हत्या गरेको छ।

यसपछि आक्रोशित इरानका सैन्य प्रमुख अमिर हतामीले यसको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।

इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।

इरानका तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाएको छ। तर इजरायलले अब उनलाई पनि मारिने धम्की दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार