काठमाडौँ : सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आउने सार्वजनिक सवारीसाधनलाई व्यवस्थापन गर्न केन्द्रीय बसपार्क (नयाँ बसपार्क) निर्माण गरेको भए पनि कतिपय सवारीसाधन अझै बसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन्।
सार्वजनिक यातायात व्यवस्थापन तथा सुधारका लागि काठमाडौँ महानगरपालिकाको पहलमा विसं २०५० मा नयाँ बसपार्क स्थापना गरिएको थियो। ठूलो लगानीमा निर्माण गरिएको उक्त बसपार्क हुँदाहुँदै पनि केही सार्वजनिक सवारीसाधनले बाहिरै पार्किङ गरी सेवा सञ्चालन गरिरहेका छन्।
काठमाडौँ महानगरपालिकाले विसं २०८० जेठ १९ गते सूचना जारी गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन असार १ गतेदेखि सम्पूर्ण यात्रुवाहक सवारीसाधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न निर्देशन दिएको थियो। सो निर्णयपछि केही सवारीसाधन बसपार्कभित्र प्रवेश गर्न थाले पनि धेरै सवारीसाधन अझै बाहिरबाटै सञ्चालन भइरहेका छन्।
मधेस प्रदेश तथा बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, नुवाकोट, रसुवा, धादिङ र मकवानपुरलगायत जिल्लामा चल्ने सवारीसाधन प्रायः नयाँ बसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन्। मधेसतर्फ जाने सवारीसाधन पशुपति, गौशाला, चाबहिल र धोबिखोला करिडोर क्षेत्रबाट सञ्चालन हुने गरेका छन् भने दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र रामेछापतर्फका सवारीसाधन कोटेश्वरमा अस्थायी बसपार्क बनाएर चलिरहेका छन्। त्यसैगरी, रसुवा, नुवाकोट र धादिङका सवारीसाधन माछापोखरी क्षेत्रबाट तथा मकवानपुरतर्फ जाने सवारीसाधन बल्खुबाट सञ्चालन हुँदै आएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले नारायणी पश्चिमतर्फ जाने अधिकांश सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन भए पनि नारायणी पूर्व तथा छोटो दूरीका सवारीसाधनले निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको बताए। उनका अनुसार अस्वस्थ प्रतिस्पर्धाका कारण समस्या देखिएको हो।
“सर्वपक्षीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न हामीलाई कुनै समस्या छैन, तर व्यवहारमा कार्यान्वयन हुन सकेको छैन,” उनले भने। नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन नहुँदा स्थानीय यातायातमा समेत असर परेको उनले बताए।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक प्रहरीले नयाँ बसपार्कभित्र प्रवेश नगर्ने सवारीसाधनमाथि कारबाही गर्दै आएको छ। “लामो दूरीका सवारीसाधन बसपार्कभित्र नजाँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ, त्यसैले कडाइ गरिएको हो,” उनले भने।
उनका अनुसार ट्राफिक प्रहरीले काठमाडौँ भित्रिने नाकाबाटै निगरानी बढाउँदै आएको छ। तोकिएको गन्तव्यसम्म नपुगी जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु एक हजारदेखि पाँच हजारसम्म जरिवाना गरिँदै आएको छ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरले यातायात व्यवस्थापन सुधारका लागि ट्राफिक प्रहरी, व्यवसायी तथा मजदुरसँग सहकार्य गरिरहेको बताए। उनका अनुसार चक्रपथ वरपर रहेका अधिकांश टिकट काउन्टर हटाइसकिएको र बाँकी पनि हटाउने प्रक्रिया अघि बढाइएको छ।
काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सवारीसाधनलाई व्यवस्थापन गर्न महानगरपालिकाले विसं २०५६ मा लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो। करिब १६१ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बसपार्कमा ८०० भन्दा बढी सवारीसाधन पार्किङ गर्न सकिने क्षमता रहेको छ।
ट्राफिक प्रहरीका अनुसार हाल काठमाडौँ उपत्यकामा करिब १८ लाख सवारीसाधन सञ्चालनमा छन् भने करिब दुई हजार ट्राफिक जनशक्ति कार्यरत छन्। पछिल्लो समय सवारीसाधनको सङ्ख्या तीव्र रूपमा बढ्दै जाँदा र सडक पूर्वाधार सीमित हुँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।





