काठमाडौँ : क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
१५ लाख ३० हजार रुपैयाँ नगदसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक प्रवेश अली, बाँकेका नरेश रेउले र सर्लाहीकी दिप्ती पोखरेल छन्। सुरूमा प्रहरीले चैत ६ गते सामाखुशीबाट रेउलेलाई पक्राउ गरेको थियो।
उनीमाथि सोधपुछ गरेपछि दिप्ती र अलीलाई खोजी पक्राउ गरिएको थियो। उनीहरूबाट प्रहरीले १५ लाख ३० हजार रुपैयाँ बराबरको नगद बरामद गरेको थियो। अनुसन्धानको क्रममा उनीहरूको मोबाइलमा बाइनान्स आइडी देखिएको थियो। त्यसमा एक अर्ब ३६ करोड ८० लाख ४५ हजार ५८० बराबरको कारोबार देखिएको थियो।





