काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाउँदै नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसहित ११ जना नेताविरुद्ध कारबाहीको सिफारिस गरिएको छ।
नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का उम्मेदवार जंगबहादुर लामाले सोमबार पार्टीको केन्द्रीय अनुशासन आयोगमा कारबाहीका लागि सिफारिस पठाएको जानकारी दिएका छन्।
कारबाही सिफारिसमा परेकामध्ये पूर्व केन्द्रीय सदस्य बस्नेतसँगै बाह्रबिसे नगरपालिकाका मेयर तथा क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, बागमती प्रदेशसभा सदस्य मसिना खड्का भण्डारी र सुनकोशी गाउँपालिकाका पूर्व अध्यक्ष श्रवणकुमार जिसी रहेका छन्।





