वीरगन्ज : अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान सरकार देशमा थिति बसाउने काममा लागिपरेको बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घले शुक्रबार आयोजना गरेको आर्थिक ०८३/०८४ को पूर्व बजेट सम्बन्धीको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
सुशासन सरकारको मुख्य उद्देश्य रहेको समेत बताए । आर्थिक दृष्टिकोणले देशमा अहिले धेरै नियम कानुन, नियमावली झन्झटिलो रहेको उद्याेगीहरुको गुनासोलाई सम्बोधन हुने काम भइरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ ।
कर प्रक्रिया, ऐन, नियमावलीमा देखिएका झन्झटिला समस्याहरू तत्काल समाधान गरी सेटिङ बिनाको काम हुने माहोल बनाउन सरकार दत्तचित्त भएर अघि बढिरहेका उनले बताए । व्यापारीहरूलाई करको बोझ घटाउने, विभिन्न अड्डामा हुने हैरानी झन्झटलाई सकेसम्म न्यूनीकरण गर्ने योजनामा सरकार लागिपरेको उनले बताए ।
यसैको जेनजी मूभमेन्ट भएकोले त्यसको मर्म अनुसार सरकार काम गर्न कुनै कसर बाँकी नराख्ने अर्थमन्त्री वाग्लेले ठोकुवा गरे ।
उनका अनुसार मध्यम वर्गका लागि शिक्षा र स्वास्थ्यमा विशेष सुविधा दिने गरी गृहकार्य अगाडि बढाइएको छ । जनादेशलाई न्याय दिने काम गर्ने नयाँ सरकारको धारणा रहेको उनले प्रष्टयाए।





